विवाह पञ्चमी महोत्सव आजदेखि सुरु, पहिलो दिन नगरदर्शन कार्यक्रम

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

४ मंसिर ,धनुषा – जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवका तयारी अन्तिम चरणमा पुगेका छन्। बिहीबारबाट नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा प्रारम्भ हुँदैछ।

जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान र बाह्रबिघा परिसरमा सरसफाइ, बत्ती सजावट तथा आकर्षक पण्डाल निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मन्दिर आसपासका गल्ली तथा विभिन्न मठ–मन्दिरहरूमा पनि विद्युत् बत्ती जडान र सजावटका काम जारी छन्।

मुख्य कार्यक्रम जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमा केन्द्रित रहनेछ । तर, यस वर्ष कुनै पनि तहको सरकारले सहयोग नगरेको महन्थ एवं मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताएका छन्। विगतमा सरकारी निकायबाट आर्थिक वा व्यवस्थापकीय सहयोग पाइँदै आएको भए पनि यो वर्ष भने कुनै सहजीकरण नभएको उनको भनाइ छ।

अयोध्या, ऋषिकेश, हरिद्वारलगायत भारतका विभिन्न धार्मिक क्षेत्रबाट यसपटक पनि ठूलो सङ्ख्यामा साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु तथा भिक्षुणी जनकपुरधाम आउने जनाइएको छ। मिथिलाञ्चलको सांस्कृतिक राजधानी मानिने जनकपुरधाममा आयोजना हुने यो महोत्सव नेपाल–भारत धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा वर्षौंदेखि स्थापित छ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा विवाह र १० गते रामकलेवा विधिसहित समापन गरिने छ। मार्गशीर्ष शुक्लपक्ष पञ्चमीको तिथिमा हरेक वर्ष मनाइने यस पर्वका लागि नेपाल र भारतका विभिन्न क्षेत्रबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन्।

विवाह पञ्चमीलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिएका छन्।

Leave a comment