काठमाडौँ, ९ फागुन २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई सतर्क रहन निर्देशन दिएकी छन्।
एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउन लागेको र हिमाली क्षेत्र, विशेषगरी रुकुमपूर्वमा सम्भावित हिमपातजस्ता प्राकृतिक चुनौती देखा पर्न सक्ने भएकाले सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनले बताइन्।
उनले विभिन्न जिल्लामा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलबीचको प्रतिस्पर्धा झडपमा परिणत हुन सक्ने आशंका व्यक्त गरिन्। झण्डा जलाउनेजस्ता घटनाले निर्वाचनका बेला तनाव बढाउन सक्ने भन्दै पूर्वतयारी आवश्यक रहेको उनको भनाइ थियो।
निर्वाचन बहिष्कार गर्ने समूहबारे टिप्पणी गर्दै उनले त्यस्ता समूहहरूको प्रभावकारिता कमजोर देखिएको बताइन्। कतिपयले बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने तथा चन्दा असुल्ने प्रवृत्ति अपनाएको पनि उनले उल्लेख गरिन्।
यस्ता गतिविधिप्रति सजग र सतर्क रहन सुरक्षा निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएकी छन्।

