बोक्सी आरोपमा अमानवीय व्यवहार : रौतहटमा दलित महिलालाई मलमूत्र खुवाइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

रौतहट — कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक दलित महिलामाथि अत्यन्त अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ। स्थानीय करिब ५५ वर्षीया अंकलियादेवी मुसहरनीलाई जबरजस्ती मानव मलमूत्र खुवाइएको आरोप लागेको हो।
परिवारका अनुसार छिमेकीको घरमा आयोजित विवाह कार्यक्रममा एक बालक अचानक बिरामी परेपछि त्यसको दोष अंकलियादेवीमाथि लगाइएको थियो। यही बहानामा १५–२० जनाको समूह उनको घरमा पुगेको र जादूटुना गरेको आरोप लगाउँदै नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको जनाइएको छ।
पीडितकी छोरी सुमिला देवीका अनुसार विरोध गर्दा परिवारका अन्य सदस्यहरूमाथि समेत कुटपिट गरिएको थियो। घटनापछि अचेत अवस्थामा पुगेकी महिलालाई प्रहरीले उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा लगेको छ। हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ।
घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालयका अनुसार संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ र दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।
यस घटनाले अझै पनि समाजमा रहेको कुप्रथा र अन्धविश्वासको भयावह रूप उजागर गरेको छ।

Leave a Comment