१० मंसिर ,काठमाडौँ : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएपछि पक्षधर नेताहरूले आज (बुधबार) राष्ट्रिय सभागृहमा देशभरका महाधिवेशन प्रतिनिधि र केन्द्रीय नेताहरूको भेला आह्वान गरेका छन्। भेला दिउँसो १ बजेबाट सुरु हुने जनाएको छ।
महाधिवेशन पक्षधरका नेता मनोजमणि लामिछानेका अनुसार भेलाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई आधार बनाउँदै केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशन तोक्न औपचारिक ‘अल्टिमेटम’ दिनेछ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय गरे पनि महाधिवेशनबारे कुनै टुंगो नलागेपछि पार्टीभित्रको असन्तोष सतहमा आएको थियो। यता सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा दल दर्ताका कागजातमा हस्ताक्षर गरेपछि इतर पक्षले महाधिवेशन सार्ने प्रयास भएको आरोप लगाउँदै दबाबको रणनीतिमा अगाडि बढेको हो।
नेताहरूका अनुसार भोलि बस्ने कार्यसमितिको बैठकमा आजको भेलाले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसअघि असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित हस्ताक्षरित निवेदन केन्द्रीय कार्यालयमा पेस गरिसकेका थिए।



Leave a Reply