एसीसी प्रिमियरको सेमिफाइनलमा आज मलेसियासँग भिड्दै नेपाल

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१३ मंसिर ,काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल अजमान क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट शुरु हुने तय गरिएको छ।

नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले लगातार दुई खेलमा जीत निकाल्न सफल भएको थियो। पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले पराजित गरिएको थियो भने दोस्रो खेलमा हङकङलाई ११९ रनको विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनल पुगेको हो।

१४ टोली सहभागी प्रतियोगिताबाट तीन टोली आगामी एसीसी यू–१९ एसिया कपका लागि छनोट हुनेछन्। यसअनुसार फाइनलमा प्रवेश गर्ने दुवै टोली स्वतः एसिया कपका लागि छनोट हुनेछन्। त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टोलीबीच हुने प्लेअफमार्फत तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा जानेछ।

नेपालले हालसम्म देखाएको प्रदर्शनका आधारमा आजको खेलमा पनि उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ।

Leave a comment