१३ मंसिर ,काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले शानदार प्रदर्शन जारी राख्दै दुई खेल बाँकी छँदै ‘प्लेअफ’को टिकट पाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले गत संस्करणको विजेता जनकपुर बोल्ट्सलाई छ विकेटले हराउँदै लगातार पाँचौँ जित दर्ता गर्यो।
१४६ रनको लक्ष्य सजिलै पूरा
जनकपुरले टस जितेर ब्याटिङ रोजेपछि निर्धारित २० ओभरमा ८ विकेट जाँदा १४५ रन बनाएको थियो। सञ्जय कृष्णमूर्तिले उत्कृष्ट ५० रन जोडे भने जान निकोलो लोफ्टी इटनले ३९ रनको सहयोग गरे।
जवाफी रूपमा १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरमै चार विकेट गुमाएर खेल आफ्नो पक्षमा पार्यो।
विनोद–इशानको साझेदारीले जित सुनिश्चित
इन्निङ्सको सुरुआतमै एक रनमा दुई विकेट पतन भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो। तर त्यसपछि विनोद भण्डारी र इशान पाण्डेले संयमित ब्याटिङ गर्दै ९२ रनको महत्वपूर्ण साझेदारी गरे।
इशान ५६ रनमा आउट भए भने विनोद ४२ रन बनाए।
बलिङमा बोहरा चम्किए
सुदूरपश्चिमका अविनाश बोहरा उत्कृष्ट बने। उनले ४ विकेट लिए भने स्कट कुगेलेइनले ३ विकेट साथ दिए।
जनकपुरतर्फ सदाकतले २ विकेट, सञ्जय र आदित्यले १–१ विकेट लिएका थिए।
अंक तालिका
लगातार पाँच जितसँगै सुदूरपश्चिम १० अंकसहित शीर्षस्थानीमा उक्लिएको छ।
उता जनकपुर भने लगातार चौथो हारसँगै अझै अंकविहीन रहँदै पुछारमै छ। अब उसका ‘प्लेअफ’का सम्भावना केवल गणितीय अवस्थामा मात्र झुन्डिएका छन्।



Leave a Reply