विराटनगर, असार १ — कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप ले प्रदेशसभाको सोमबारको बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको जनाएको छ।
बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै वित्तीय व्यवस्थापनका लागि १५ करोड रुपैयाँ र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
सरकारले आगामी वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोतबाट राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। प्रदेशको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड रुपैयाँ तथा सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानमार्फत ९ अर्ब १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसैगरी सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ८४ करोड रुपैयाँ, विशेष अनुदानबाट ४१ करोड रुपैयाँ तथा सोझै भुक्तानीमार्फत २० करोड रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ। बाँकी अपुग हुने करिब ५ अर्ब रुपैयाँ प्रदेशको नगद मौज्दातबाट व्यवस्थापन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, सेवा प्रवाह सुधार, कृषि, उद्योग तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयन गर्ने जनाएको छ।
कोशी प्रदेशको बजेट १२.७४ प्रतिशतले वृद्धि, ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ विनियोजन
Leave a Comment
Leave a Comment






