१४ मंसिर, काठमाडौं । लामो समयदेखि दुई टुक्रामा विभाजित गैरआवासीय नेपाली संघ (एनआरएनए) आजदेखि औपचारिक रूपमा एकताबद्ध भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले एकता–सम्बन्धी सहमतिको कागजमा हस्ताक्षर गर्दै नयाँ यात्रा प्रारम्भ गरेका हुन्।
विगत केही वर्षदेखि श्रेष्ठ समूह र केसी समूह छुट्टाछुट्टै रूपमा सक्रिय रहे पनि देश–विदेशका परिस्थितिले एकीकृत नेतृत्व आवश्यक परेको ठहर दुवै पक्षले गरेका थिए। यही बुझाइका आधारमा उनीहरूले साझा १० बुँदे दस्तावेजमार्फत विवाद टुंग्याउने निर्णय गरे।
सहमति अनुसार संघको १२औं अन्तर्राष्ट्रिय महाधिवेशन १७ अप्रिल २०२६ भित्र सम्पन्न गरिनेछ। सो महाधिवेशनसम्म दुवै समूह मिलेर जाने तथा केसी नेतृत्वको कार्यसमिति एकता प्रक्रियामा श्रेष्ठको नेतृत्वसँगै अघि बढ्ने प्रष्ट उल्लेख छ।
महाधिवेशन पारदर्शी बनाउन ११ सदस्यीय स्टेयरिङ समिति गठन गर्ने र उक्त समितिका सदस्यहरूलाई महाधिवेशनमा उम्मेदवार बन्न नपाउने व्यवस्था सहमतिमै समावेश गरिएको छ।
एक वरिष्ठ नेताले भने, “दुवै पक्षबीच धेरै वर्षदेखि प्रयास भइरहे पनि आजको सहमतिले वास्तविक एउटा मोड ल्याएको छ। अब विश्वभरका एनआरएनहरूको समन्वित नेतृत्व महेशकुमार श्रेष्ठले गर्नेछ।”
अदालतमा विचाराधीन रहेका आधिकारिकतासम्बन्धी सबै मुद्दा फिर्ता लिने, सहमतिको कार्यान्वयन परराष्ट्र मन्त्रालयमा अभिलेख–समेत गराएर अघि बढाउने उल्लेख छ। यही मन्त्रालयको रोहवरमै १० बुँदे सहमति हस्ताक्षर गरिएको हो।
मुख्य प्रावधानहरूमा समावेश:
२०२३ अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्बाचित डा. बद्री केसी नेतृत्वलाई आधिकारिक मान्यता।
२०२५ मेमा भएको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठ नेतृत्वमा बनेको समिति स्वीकार।
श्रेष्ठ नेतृत्वको वर्तमान कार्यकाललाई पूर्ण कार्यकाल मानिने।
विगतमा नेतृत्व गरिसकेका डा. केसी, कुल आचार्य, रबिना थापा, विनोद कुँवर र राजेन्द्रकुमार शर्मालाई पूर्व कार्यसमिति रूपमा अभिलेखीकरण गर्ने।
१२औं महाधिवेशनमा केसी नेतृत्वको महासचिव र कोषाध्यक्षले प्रतिवेदन पेश गरेर अनुमोदन गराउनेछन्। त्यसपछि डा. केसीले आधिकारिक रूपमा जिम्मेवारी श्रेष्ठलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्नेछ।
दुवै पक्षका आर्थिक विवरणहरू स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने र महाधिवेशन तथा निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउन अतिरिक्त सहमति पनि लागू गरिनेछ।



Leave a Reply