धरौटीमा रिहाइपछि रवि लामिछानेको पहिलो सार्वजनिक उपस्थिति, आज चितवनबाट राजनीतिक सन्देश

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

५ मंसिर,काठमाडौँ । धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज शनिबार पहिलोपटक सार्वजनिक रूपमा देखिने भएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले चितवनमा ‘विशेष तथा छोटो’ सम्बोधन गर्दै राजनीतिक गतिविधि पुनः सुरु गर्न लागेका हुन् ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार लामिछानेले आज बिहान ११ बजे चितवनको भरतपुर–चौबीसकोटी क्षेत्रमा उपस्थित समर्थक र नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनलाई धरौटीमा रिहाइपछि उनको पहिलो औपचारिक राजनीतिक अभिव्यक्तिका रूपमा हेरिएको छ ।

चितवनको कार्यक्रमपछि लामिछाने आजै काठमाडौँ आउनेछन् । प्रवक्ता झाका अनुसार उनी दिउँसो १:५० बजे बुद्ध एयरको उडानमार्फत राजधानी प्रस्थान गर्ने छन् ।

काठमाडौँ पुगेपछि लामिछानेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदका परिवार तथा घाइतेहरूसँग भेटघाट सुरु गर्ने कार्यक्रम पनि तय भएको छ । यसलाई आन्दोलनप्रति पार्टी र नेतृत्वको संवेदना तथा ऐक्यबद्धताको सन्देशका रूपमा लिइएको छ ।

यसैबीच, आइतबार दिउँसो ३ बजे रास्वपा केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघरमा सभापति लामिछानेको औपचारिक स्वागत कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममार्फत पार्टी गतिविधि थप सक्रिय बनाउने तयारी रास्वपाले गरेको छ ।

धरौटीमा रिहाइपछि लामिछानेको आजको सम्बोधनले आगामी राजनीतिक दिशा र पार्टीको रणनीतिबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ ।

Leave a Comment