एमाले महाधिवेशन तयारी तीव्र : २४ सय प्रतिनिधि र १० हजार स्वयंसेवक परिचालन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२२ मंसिर, काठमाडौं।
नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा भक्तपुर र काठमाडौँ दुबै ठाउँमा तयारी तीव्र गतिमा अघि बढेको छ। उद्घाटन सत्र मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुने भएको छ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गर्ने तयारी छ।

पार्टीले विभिन्न संरचनाबाट कुल २४ सय महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ। एमालेलाई ७७ जिल्ला कमिटी र ७ विशेष जिल्ला मिलाएर ८१ जिल्ला संरचना रहेको छ, र संगठित सदस्यको अनुपातका आधारमा प्रतिनिधि संख्या निर्धारण गरिएको पार्टीले जनाएको छ।

केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग तथा सल्लाहकार परिषद्मा रहेका पदाधिकारीहरू स्वतः प्रतिनिधि मानिन्छन्। बाँकी प्रतिनिधिहरू भने प्रतिनिधि सभा क्षेत्रलाई आधार मानेर निर्धारित प्रक्रियामार्फत चयन गरिएको हो।

प्रदेश कमिटीबाट ५ जना (कम्तीमा २ महिला) गरी ४५ जना प्रतिनिधि छानिएका छन्। त्यस्तै, प्रतिनिधि सभा क्षेत्रका १,२०० सदस्य बराबरीमा ४० वर्षमुनिका एक युवा, कम्तीमा एक महिला सहित ४ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ।

महाधिवेशनमा सुरक्षा, व्यवस्थापन र भीड नियन्त्रणका लागि १० हजार स्वयंसेवक खटाइनेछन्। स्वयंसेवकहरू २४ जना संगठन तथा विभिन्न कमिटीहरूबाट आएका हुन्। राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) पनि सक्रिय रूपमा सहभागी हुने बताइएको छ।

जनपरिचालन समितिको संयोजन उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गरेका छन्। समितिमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत समावेश छन्।

सल्लाघारीको नेपाल ट्रस्टअन्तर्गत पर्ने १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा करिब दुई लाख जनसमुदाय अटाउने क्षमता रहेको आयोजकले बताएका छन्। मञ्च निर्माण, आवश्यक सुविधाहरू जस्तै शौचालय तथा प्रवेश–निस्कने मार्ग निर्माण कार्य स्वयंसेवकहरूले तीव्र रूपमा गर्दै आएका छन्।

उद्घाटनका दिन पूर्वतर्फबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखाना क्षेत्रतर्फ व्यवस्थापन गरिनेछ भने पश्चिमतर्फबाट आउने सवारीलाई गठ्ठाघर हुँदै कमेरोटार क्षेत्रतर्फ राख्ने व्यवस्था मिलाइएको छ।

Leave a Comment