जनकपुरधाम । जिल्ला अदालत धनुषाको मुख्य गेटमा बुधबार एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। प्रहरीले समयमै नियन्त्रणमा लिएपछि उनको ज्यान जोगिएको छ।
जनकपुरधाम उपमहानगरपालिका–३ की ५५ वर्षीया फूलकुमारी रजकले दिउँसो आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्। पेट्रोल खन्याउँदै गरेको देखेपछि प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक अरविन्द साहको नेतृत्वमा खटिएको टोलीले रजकलाई नियन्त्रणमा लिएको हो। तत्कालै उद्धार गरिएपछि ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
मिटरब्याजसम्बन्धी मुद्दामा धनुषा अदालतमा हरेराम शसाह र गोपाल साहविरुद्ध थुनछेकको बहस चलिरहेको छ। उनीहरूलाई थुनामा राख्नुपर्ने माग गर्दै मिटरब्याजपीडितहरूले अदालत परिसरमा प्रदर्शन गरिरहेका थिए।
प्रदर्शनकै क्रममा रजकले आत्मदाहको प्रयास गरेपछि अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
धनुषा अदालतको गेटमै महिलाले गरिन् आत्मदाहको प्रयास, प्रहरीले समयमै बचायो
Leave a Comment
Leave a Comment

