मंगलबार, १ पुस २०८२
काठमाडौँ
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज तय गरिएको मतदान प्रक्रिया निर्धारित समयभन्दा केही ढिला सुरु हुने देखिएको छ। तेस्रोपटक संशोधित निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने समय तोकिए पनि विद्युतीय भोटिङ मेसिनसम्बन्धी प्राविधिक तयारी पूरा हुन समय लागेकाले मतदान ढिलिने भएको हो।
निर्वाचनमा प्रयोग गरिने ८० वटा विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम र विवरण प्रविष्ट गर्ने काम अझै जारी छ। भोटिङ मेसिन व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार उम्मेदवारको संख्या धेरै भएकाले विवरण इन्ट्रीमा अपेक्षाभन्दा बढी समय लागेको हो। उनले निर्धारित समयमा तयारी सक्ने प्रयास भइरहेको भए पनि मतदान सुरु हुन केही ढिलाइ हुन सक्ने जानकारी दिएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोग गरी कुल ३५१ पदका लागि निर्वाचन हुँदैछ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिव पदका लागि वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे आमनेसामने छन्। महाधिवेशनमा २ हजार २६३ जना प्रतिनिधिले मतदान गर्नेछन्।
मतदान ढिलिने भएपछि भृकुटीमण्डप क्षेत्र बिहानैदेखि राजनीतिक गतिविधिले चहलपहलपूर्ण बनेको छ। उम्मेदवार तथा समर्थकहरू समूह–समूहमा भोट माग्दै हिँडिरहेका छन्। प्रदर्शनमार्ग क्षेत्रमा कार्यकर्ताको बाक्लो भिड देखिएपछि सुरक्षाका लागि प्रहरीले सो सडक अस्थायी रूपमा बन्द गरेको छ।
प्राविधिक पक्षअनुसार भोटिङ मेसिनमा उम्मेदवारको फोटोसहित विवरण प्रविष्ट गर्नुपर्ने भएकाले मतदान सुरु हुन दिउँसो ढिलो, सम्भवतः चार बजेतिर हुन सक्ने बताइएको छ।







