जेनजी आन्दोलनका घाइते वर्गीकरण तीव्र, १८३ जनाको विवरण टुंगियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

३ मंसिर,काठमाडौँ, ३ पुस — जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते घाइते भएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने प्रक्रियाले तीव्रता पाएको छ। मन्त्रिपरिषद्ले ‘जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने कार्यविधि–२०८२’ स्वीकृत गरेपछि घाइतेहरूको अवस्था मूल्याङ्कन र वर्गीकरण कार्य द्रुतगतिमा अघि बढाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा गठन गरिएको प्राविधिक समितिले घाइतेको अपाङ्गता र चोटको गम्भीरताका आधारमा चार तहमा वर्गीकरण गरिरहेको छ। कार्यविधिअनुसार घाइतेलाई सामान्य, मध्यम, गम्भीर र अति गम्भीर श्रेणीमा राख्ने व्यवस्था छ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ, कास्की र चितवन गरी तीन जिल्लामा १८३ जना घाइतेको वर्गीकरण सम्पन्न भइसकेको छ। तीमध्ये १८ जना अति गम्भीर, ५५ जना गम्भीर, ४० जना मध्यम र ७० जना सामान्य घाइते रहेका छन्।

जिल्लागत विवरण हेर्दा काठमाडौँमा १६९ जना घाइतेको मूल्याङ्कन गरिएको छ, जसमा १६ जना अति गम्भीर, ५२ जना गम्भीर, ३७ जना मध्यम र ६४ जना सामान्य श्रेणीमा परेका छन्। कास्कीमा ७ जना घाइतेमध्ये २ जना अति गम्भीर, ३ जना गम्भीर र २ जना सामान्य छन्। चितवनमा वर्गीकृत ७ जनामध्ये अति गम्भीर वा गम्भीर कोही नरहेको र ३ जना मध्यम तथा ४ जना सामान्य घाइते रहेका छन्।

कार्यविधिअनुसार अति गम्भीर घाइतेले मासिक ९ हजार रुपैयाँ र उनीहरूको हेरचाह गर्ने व्यक्तिले थप ९ हजार रुपैयाँ गरी कुल १८ हजार रुपैयाँ मासिक जीविकोपार्जन भत्ता पाउनेछन्। गम्भीर घाइतेले ९ हजार र मध्यम घाइतेले ४ हजार रुपैयाँ मासिक भत्ता पाउने व्यवस्था गरिएको छ। सामान्य घाइतेलाई भने नगद राहतको व्यवस्था गरिएको छैन।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनपछि सम्बन्धित निकायलाई घाइते वर्गीकरणको काम छिटो टुंग्याउन भनिएको हो। मन्त्रालयमा प्राप्त तथ्यांकअनुसार देशभर जेनजी आन्दोलनका क्रममा कुल २,५२२ जना घाइते भएका छन्।

सरकारले महँगीको अवस्थालाई ध्यानमा राख्दै जीविकोपार्जन भत्ता समय–समयमा पुनरावलोकन गर्ने प्रावधान पनि कार्यविधिमा समेटिएको छ।

Leave a Comment