८ पुस,काठमाडौ -आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट चरणमा नेपालले आफ्नो पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने भएको छ। घरेलु मैदानमा आयोजना हुने उक्त छनोट प्रतियोगितामा नेपालले माघ ४ गते थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै अभियानको सुरुवात गर्नेछ।
नेपाल समूह ‘बी’मा परेको छ, जहाँ स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड रहेका छन्। समूह चरणअन्तर्गत नेपालले दोस्रो खेल माघ ८ गते नेदरल्यान्डसँग खेल्नेछ भने माघ १० गते जिम्बावेसँग र माघ १२ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका तय भएको छ।
ग्लोबल छनोटअघि तयारीलाई थप मजबुत बनाउन नेपालले दुई अभ्यास खेल पनि खेल्नेछ। अभ्यास खेल अन्तर्गत जनवरी १४ मा आयरल्यान्डसँग मुलपानीको तल्लो मैदानमा खेल हुनेछ भने जनवरी १६ मा अमेरिकासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास खेल खेलिनेछ।
इङल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपका लागि छनोट हुने उद्देश्यसहित आयोजना गरिएको ग्लोबल छनोट प्रतियोगिता जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म चल्नेछ। प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछन्।

