नेपाल आज राति कतारसँग भिड्दै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

ओमान, असोज २७
आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपालले आज राति कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।

सुपर सिक्स चरणको आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईमाथि १ रनको रोमाञ्चक जित दर्ता गर्दै प्रतियोगितामा विजयी यात्रा निरन्तर राखेको थियो। समूह ‘बी’का दुवै खेल जित्दै सुपर सिक्समा प्रवेश गरेको नेपालले समूह चरणमा कुवेतलाई ५८ रनले र जापानलाई पाँच विकेटले पराजित गरेको थियो।

नेपाल लगातार चौथो जितको खोजीमा रहेको छ। अर्कोतर्फ, समूह ‘ए’बाट सुपर सिक्समा पुगेको कतारले मलेसियालाई हराएको थियो भने युएईसँग पराजित भएको थियो। सुपर सिक्सको पहिलो खेलमा कतार ओमानसँग ३४ रनले पराजित भएको थियो।

अहिलेसम्म यी दुई टोलीबीच तीन पटक भिडन्त हुँदा नेपालले दुई र कतारले एक खेलमा जित हासिल गरेका छन्। सुपर सिक्समा नेपाल अपराजित रहँदै ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने कतार अंकविहीन छ।

नेपालले सुपर सिक्समा कतारसँगै ओमान र समाओसँग प्रतिस्पर्धा गर्नेछ। आफ्नै समूह ‘बी’बाट आएको जापानसँग भने नेपालले खेल्ने छैन।

यस चरणका १२ खेलपछि शीर्ष तीन टोलीले आगामी वर्ष फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुनिश्चित गर्नेछन्। नेपालले आफ्नो अर्को खेल बुधबार ओमानसँग खेल्नेछ।

Leave a comment