काठमाडौँ, वैशाख ७ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आज संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टी–२० आई सिरिजको सुरुआत गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। नेपालले यूएईसँग दुई खेलको टी–२० आई सिरिज खेल्न लागेको हो।
यसपटक टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले सम्हाल्दै छन्। नेपाल क्रिकेट संघले टी–२० र एकदिवसीयका लागि फरक–फरक कप्तान चयन गरेसँगै यो नयाँ संयोजनमा टोली मैदान उत्रिन लागेको हो।
नियमित कप्तान रोहित पौडेलसहित तीव्र गतिका बलर सोमपाल कामी र करण केसी टोलीबाहिर रहँदा पनि नेपाल सन्तुलित टोलीसहित प्रतिस्पर्धामा उत्रिँदै छ।
यो खेल नेपालका लागि विशेष महत्त्वको छ। पहिलो—राष्ट्रिय टोलीले दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दैछ। दोस्रो—स्तरोन्नतिपछि फ्लडलाइटसहितको त्रिवि क्रिकेट मैदानमा पुरुष टोलीको पहिलो खेल हुँदैछ।
हेड–टु–हेड तथ्याङ्कअनुसार नेपाल र यूएईबीच हालसम्म ११ खेल भएका छन्, जसमा नेपालले ६ र यूएईले ५ खेल जितेको छ। पछिल्लोपटक २०२५ अक्टोबरमा भएको भेटमा भने नेपाल फाइनलमा यूएईसँग ४ विकेटले पराजित भएको थियो।
नेपालले आजको खेलमार्फत घरेलु समर्थकमाझ नयाँ ऊर्जा र आत्मविश्वासका साथ सिरिज सुरु गर्ने लक्ष्य लिएको छ।
दुई वर्षपछि घरेलु मैदानमा नेपाल, आज यूएईसँग ऐतिहासिक टी–२० भिडन्त
Leave a Comment
Leave a Comment

