११ पुस,काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्रीको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ ग्रहणसँगै शर्माले नेपालको कूटनीतिक नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्। आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएका शर्माको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सुरक्षा क्षेत्रको लामो अनुभव बोकेका शर्माको आगमनसँगै नेपालको परराष्ट्र नीतिमा व्यावहारिकता र संस्थागत स्थायित्व थप बलियो हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा राख्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने दायित्व अब शर्माको काँधमा आएको छ।
राजनीतिक वृत्तमा उनको नियुक्तिलाई अनुभव र अनुशासनको संयोजनका रूपमा हेरिएको छ भने परराष्ट्र मन्त्रालयले अब नयाँ नेतृत्वमा कूटनीतिक सक्रियता बढाउने विश्वास गरिएको छ।

