सिन्धुली, साउन १९ — सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनापछि सुनकोसी नदीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजी कार्य मंगलबार बिहानैदेखि तीव्र पारिएको छ। गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ।
प्रहरीका अनुसार सोमबार बसको ठक्करपछि प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कार करिब ३० मिटर तल सुनकोसी नदीमा खसेको थियो। त्यसयता कार र त्यसमा सवार तीनै जना बेपत्ता छन्।
बेपत्ता हुनेमा कार चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको तिनपाटन गाउँपालिका–९ निवासी १७ वर्षीय सुरज बलम्पाकी तथा गोलन्जोर गाउँपालिका–१ निवासी करिब २८ वर्षीय गणेश थापा रहेका छन्। थापा स्काभेटर चालक र बलम्पाकी हेल्परका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठका अनुसार सुनकोसी नदीमा आएको ठूलो बाढीका कारण खोजी अभियान प्रभावित बनेको छ। तीव्र बहावका कारण गोताखोरलाई नदीभित्र प्रवेश गरेर खोजी गर्नसमेत कठिनाइ भइरहेको उनले बताए।
बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा गोताखोर टोली परिचालन गरिएको छ। नेपाल प्रहरीको टोलीले पनि खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब ३० मिटर तल सुनकोसी नदीमा खसेको हो।
दुर्घटनापछि बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुनकोसीमा कारसहित बेपत्ता तीन जनाको खोजी जारी, गोताखोरसहित सुरक्षा टोली परिचालन
Leave a Comment
Leave a Comment

