१३ पुस,विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा लागुऔषध तस्करी रोक्न प्रहरीले हवाई फायर गर्नुपरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३३० किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जहदा गाउँपालिका–२ तारिगामास्थित सीमावर्ती क्षेत्रमा गए राति करिब ११ बजे गाँजा भारततर्फ लैजाँदै गरेका व्यक्तिलाई रोक्न खोज्दा उनीहरू भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो।
प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको टोलीले टाउकोमा गाँजाको बोरा बोकेर सीमा पार गर्ने क्रममा रहेका तस्करलाई देखेपछि नियन्त्रण प्रयास गरेको थियो। प्रहरी देख्नासाथ गाँजाका बोराहरू फालेर फरार हुन खोजेपछि चाइनिज पेस्तोलबाट हवाई फायर गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन्। उनीहरूलाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय एम्बुलेन्स, स्कारपियोलगायत सवारी साधन प्रयोग गरेर लागुऔषध ओसारपसार हुँदै आएको पाइएको भन्दै प्रहरीले निगरानी थप कडा बनाइएको जनाएको छ।






