काठमाडौँ, १६ पुस । घुससम्बन्धी मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ। अदालतले गुप्तामाथि लागेको ७८ लाख रुपैयाँ घुस लिएको अभियोग गम्भीर देखिएको ठहर गर्दै थुनामै राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो।
भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दाको सुनुवाइ टुंगो नलाग्दासम्म गुप्तालाई थुनामा राख्ने तथा दोषी ठहर भएमा घुस रकम जफत र जरिवाना समेत हुने व्यवस्था लागू हुने अदालतले जनाएको छ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। आदेशमा उल्लेख भएअनुसार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा आफ्नो हैसियत दुरुपयोग गरी अन्य व्यक्तिहरूलाई प्रयोग गरेर घुस रकम लिएको अभियोग लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा थप प्रमाण संकलन र साक्ष्यका आधारमा सुनुवाइ प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ।






