१८ पुस, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको विध्वंसबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रमुख राजनीतिक दलका दुई शीर्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएको छ।
आयोगले धारणा माग्दै पठाएको उक्त पत्र प्रारम्भमा दुवै नेताले म्याद बुझ्न अस्वीकार गरे पनि सार्वजनिक सूचना जारी गरिने चेतावनीपछि अन्ततः बुझिएको छ। आयोगका अनुसार व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मार्फत पत्र बुझाउने प्रयास भएको थियो।
कांग्रेस सभापति देउवाले २४ भदौको आगजनी घटनामा आफू स्वयं पीडित भएको, घर जलेर नष्ट भएपछि अन्यत्र बस्नुपरेको तथा जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै जिम्मेवार भूमिकामा नरहेको उल्लेख गर्दै किन बयान दिनुपर्ने भन्ने प्रश्न उठाएका थिए।
यस्तै, प्रचण्डले पनि आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, सत्तामा रहेकाहरूको आलोचना र खबरदारी गरिरहेको अवस्थामा आफ्नै निवासमा आगजनी भएको भन्दै के आधारमा आयोगमा बयान दिनुपर्ने हो भन्ने जिज्ञासा व्यक्त गरेका थिए।
आयोगका तर्फबाट खटिएका कर्मचारी तथा सुरक्षा अधिकारीहरूले बयान लिन नभई घटनासम्बन्धी धारणा र जानकारी संकलनका लागि मात्र पत्र पठाइएको स्पष्ट पारेका थिए। पत्र नबुझे सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना प्रकाशित गरिने र सहयोग नगरेको विवरण प्रतिवेदनमा समावेश गरिने चेतावनी दिइएपछि दुवै नेताले केही घण्टाको अन्तरमा पत्र बुझेका हुन्।
म्याद तामेलमा संलग्न प्रहरी स्रोतका अनुसार हालसम्म आयोगमा उपस्थित हुने वा लिखित जवाफ पठाउने भन्ने विषयमा भने दुवै नेताबाट औपचारिक निर्णय भइसकेको छैन।





