जाजरकोट — लगातारको वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परेका दुई जना अझै सम्पर्कविहीन छन्।
शनिबार साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी सात जना घाइते भएका छन्। घाइते हुनेमा ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की रहेका छन्।
घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पहिरोमा परी भेरी नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको छ। अन्य दुई मृतकको विवरण भने प्रहरीले जनाएको छैन।
भेरी–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्। पहिरोपछि घरबाट बाहिरिएका विक त्यसपछि सम्पर्कमा नआएको बताइएको छ।
पहिरोका कारण स्थानीय आठवटा घरमा समेत क्षति पुगेको छ। बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। निरन्तर वर्षाका कारण उद्धार तथा खोजी कार्यमा समेत चुनौती देखिएको सुरक्षाकर्मीले बताएका छन्।
जाजरकोट पहिरोमा तीनको मृत्यु, दुई अझै बेपत्ता
Leave a Comment
Leave a Comment

