कांग्रेस केन्द्रीय समितिको म्याद जेठसम्म बढाउने तयारी, महाधिवेशन वैशाख अन्त्यमा प्रस्ताव

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १८ पुस
नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको कार्यकाल थप लम्ब्याउने प्रस्ताव अघि सारिएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समितिको म्याद २०८२ जेठ मसान्तसम्म थप्ने प्रस्ताव प्रस्तुत गरिएको हो।

सभापति शेरबहादुर देउवाको प्रस्तावमा अघि बढाइएको म्याद थप यसअघि दुई महिना विस्तार गर्दै माघ मसान्तसम्म पुर्‍याइएको थियो। १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यकाल सकिन लागेपछि पटक–पटक म्याद थपिँदै आएको छ।

बैठकमा पार्टीको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म आयोजना गर्ने प्रस्ताव पनि राखिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन्। यसअघि पुस २६–२८ गतेका लागि तय गरिएको महाधिवेशन विभिन्न कारणले प्रभावित भएपछि नयाँ तालिका अघि सारिएको बताइएको छ।

नेता विमलेन्द्र निधिका अनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै समाप्त भइसकेकाले अब नियमित महाधिवेशनमै जानुपर्ने निष्कर्षसहित नयाँ मिति प्रस्ताव गरिएको हो।

तर पार्टीभित्र मतभेद कायमै छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै हुनुपर्ने अडानमा छन्। उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगन भइसकेकाले विशेष महाधिवेशन नै एकमात्र विकल्प भएको बताएका छन्।

महामन्त्रीद्वयको दबाबपछि कार्यवाहक सभापति खड्काले बिहीबार साँझ केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए। त्यसअघि उनले संस्थापन समूहका नेताहरूसँग आन्तरिक परामर्श पनि गरेका थिए।

पार्टी नेतृत्वको कार्यकाल, महाधिवेशनको मिति र स्वरूपलाई लिएर देखिएको मतभेदले कांग्रेसभित्रको आन्तरिक राजनीतिलाई थप पेचिलो बनाएको छ।

Leave a Comment