काठमाडौं, पुस २४
राजनीतिक गतिविधिमा संलग्न भएको आरोपसहित राजीनामाको दबाब झेलिरहेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई सरकारले नै अमेरिका भ्रमणको अनुमति दिएको खुलासा भएको छ।
गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री गुप्तालाई अमेरिका जाने स्वीकृति दिएको हो। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले उनलाई आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने ‘जेन–जी क्रान्तिपछिको नेपालको विकासमा एनआरएनए युवाको भूमिका’ विषयक कार्यक्रममा सहभागी हुन अनुमति दिएको जनाइएको छ।
यो निर्णय त्यही समयमा आएको हो, जब प्रधानमन्त्री कार्कीले सरकारका केही मन्त्रीहरू सक्रिय राजनीतिमा लागेको भन्दै राजीनामा दिन सार्वजनिक निर्देशन दिएकी थिइन्। त्यसै सन्दर्भमा मन्त्री गुप्तालाई भने सरकारले विदेश भ्रमण स्वीकृति दिनु आन्तरिक रूपमा विरोधाभासपूर्ण निर्णयको रूपमा हेरिएको छ।
यद्यपि, मन्त्री गुप्ताको सचिवालयले भने अहिलेसम्म अमेरिका जाने–नजाने टुंगो नलागेको बताएको छ। सचिवालयका अनुसार भिसाका लागि समेत आवेदन नदिइएको र कार्यक्रम सहभागिताबारे अन्तिम निर्णय हुन बाँकी छ।
मन्त्री गुप्ता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट मन्त्री बनेका व्यक्ति हुन्। बालेन समूह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएपछि गुप्ता पनि सक्रिय राजनीतिक गतिविधिमा संलग्न हुँदै आएका छन्।
उनी बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेबीच समन्वयकर्ताको भूमिकामा देखिँदै आएका थिए। साथै, कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ अभियानलाई रास्वपामा समाहित गराउने प्रयासमा समेत सक्रिय रहेको आरोप उनीमाथि लाग्दै आएको छ।
जेन–जी आन्दोलनपछि बनेको निर्दलीय सरकारमा राजनीतिक व्यक्ति सहभागी भएको भन्दै युवाहरू असन्तुष्ट हुँदै आएका छन्। यही असन्तुष्टिको बीच, उज्यालो नेपालका संरक्षक तथा रास्वपाको उपसभापति बन्ने सहमति गरेका कुलमान घिसिङले बुधबार राति मन्त्री पदबाट राजीनामा दिएका छन्।
घिसिङको राजीनामापछि मन्त्री बब्लु गुप्ता र सरकारका प्रवक्ता जगदीश खरेलमाथि पनि राजीनामाको दबाब तीव्र रूपमा बढ्दै गएको छ।

