५ लाखभन्दा बढी रकम अब चेकबाट नगद झिक्न नपाइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २५ पुस २०८२ — नेपाल राष्ट्र बैंकले चेकमार्फत हुने ठूलो परिमाणको नगद कारोबारमा कडाइ गरेको छ । अब ५ लाख रुपैयाँभन्दा बढी रकमको चेक साटेर नगद झिक्न पाइने छैन ।

केन्द्रीय बैंकका अनुसार ५ लाख रुपैयाँभन्दा माथिको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था लागू गरिएको हो । यससँगै उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा मात्र जम्मा गर्न पाइनेछ ।

यसअघि १० लाख रुपैयाँसम्मको नगद कारोबार गर्न पाइने व्यवस्था रहेकामा सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) न्यूनीकरण गर्ने उद्देश्यले उक्त सीमा घटाएर ५ लाखमा झारेको थियो । सो निर्णय नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

राष्ट्र बैंकले एक पटकमा ५ लाख रुपैयाँभन्दा कमको कारोबार नगदमै गर्न सकिने भए पनि सोभन्दा बढी रकम कारोबार गर्नुपरेमा एकाउन्ट पेयी चेक प्रयोग गर्नुपर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले पनि ५ लाख वा सोभन्दा बढी रकम भुक्तानी गर्दा नगद नदिई खातामै जम्मा गर्नुपर्नेछ ।

फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा काटिएका चेकहरू समेत अब अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरिएको छ ।

तर सामाजिक कार्य, पारिवारिक कार्यक्रम वा व्यापारिक कारणले नगद संकलन गर्नुपर्ने अवस्थालाई यसले प्रभावित नगर्ने राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए ।

यद्यपि कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारणसहित निवेदन दिएमा र कारण मनासिब देखिएमा तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी गर्न सकिने व्यवस्था पनि राखिएको छ । त्यस्तो भुक्तानीको विवरण भने मासिक रूपमा अद्यावधिक गर्नुपर्नेछ ।

लघुवित्त वित्तीय संस्थालाई समेत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को उद्देश्य अनुरूप ५ लाख वा सोभन्दा बढी रकमको भुक्तानी गर्दा एकाउन्ट पेयी चेकमार्फत नै गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Leave a Comment