एमाले महाधिवेशनमा आज नेतृत्व चयन, मतदान सुरु गर्न सबै तयारी पूरा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, पुस २
नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ। मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक कारण देखाउँदै स्थगित भएपछि आज बिहान ८ बजेदेखि सुरु हुने सूचना दिइएको हो।

मतदान सुरु हुने खबर पाएसँगै महाधिवेशन स्थलमा प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका छन्। यसपटक मतदान विद्युतीय मेसिनमार्फत गरिँदैछ, जसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको प्राविधिक टोलीले जनाएको छ।

प्राविधिक लक्ष्मण रिमालका अनुसार अहिले कुनै पनि समस्या बाँकी छैन।
उनले भने, “हाम्रो तर्फबाट सबै काम सकिएको छ। अब निर्वाचन आयोगको निर्देशन आएलगत्तै मतदान सुरु गर्न सकिन्छ।”

मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेका यी मेसिनमार्फत २ हजार २६३ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुँदैछन्।

नेतृत्व चयनका लागि अध्यक्ष पदमा केपी शर्मा ओली समूह र ईश्वर पोखरेल समूह प्यानलसहित मैदानमा छन्। दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। प्यानलबाहिरका केही उम्मेदवारहरूले पनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरिरहेका छन्।

महाधिवेशनबाट एमालेको आगामी कार्यदिशा र नेतृत्व संरचना तय हुने भएकाले आजको मतदानलाई पार्टीभित्र मात्र नभई राष्ट्रिय राजनीतिमा समेत चासोका साथ हेरिएको छ।

Leave a Comment