सुधन गुरुङमाथि छानबिन तीव्र, बैंकदेखि धितोपत्र बोर्डसम्म विवरण माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्तिसम्बन्धी विवादबारे अनुसन्धान गरिरहेको सरकारी छानबिन समितिले विभिन्न निकायसँग विवरण माग्दै प्रक्रिया अघि बढाएको छ।
समितिले बैंक, मालपोत कार्यालय र धितोपत्र बोर्डलाई पत्राचार गर्दै गुरुङसँग सम्बन्धित जग्गा, सेयर लगानी र बैंकिङ कारोबारको विवरण मागेको हो। प्रारम्भिक चरणमा कागजात संकलन गरिने र त्यसपछि गुरुङलाई बोलाएर सोधपुछ गरिने समितिको तयारी छ।
गुरुङ सार्वजनिक रूपमा सम्पत्ति विवरण बाहिरिएपछि विवादमा तानिएका थिए। उनीसँग कानुनले तोकेको सीमा भन्दा बढी जग्गा रहेको तथा अस्वाभाविक रूपमा सम्पत्ति बढेको आरोप लाग्दै आएको छ। साथै विवादित व्यवसायी दीपक भट्ट संलग्न कम्पनीमा संस्थापक सेयर रहेको तथ्य सार्वजनिक भएपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
सरकारले वैशाख २८ गते पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई १५ दिनभित्र सत्यतथ्य अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
यता प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफैंसँग राखेका छन्। छानबिनको निष्कर्षपछि मात्रै नयाँ गृहमन्त्रीबारे निर्णय गर्ने तयारी रहेको बताइएको छ।

Leave a Comment