काठमाडौँ, माघ ५
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार प्रसाईंलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। निर्वाचन आयोगसम्बन्धी विवादास्पद अभिव्यक्तिपछि आयोगले प्रहरीमा उजुरी दिएसँगै उनलाई पक्राउ गरिएको हो।
प्रसाईंले केही दिनअघि नेपाली कांग्रेसको आन्तरिक विवादमा निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिलाई आधार बनाएर आयोगले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
राजावादी अभियन्ताका रूपमा परिचित प्रसाईं पछिल्लो समय विभिन्न माग राख्दै निर्वाचन बहिष्कारको चेतावनी दिँदै आएका थिए। यद्यपि, माघ २ गते सरकारसँग भएको सहमतिपछि उनका आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएको थियो।
सिंहदरबारमा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै महाभियानले आन्दोलन रोकेको घोषणा गरेको थियो। तर, त्यसको केही दिनमै प्रसाईं पक्राउ परेपछि राजनीतिक र सामाजिक वृत्तमा यस घटनाले नयाँ बहस सिर्जना गरेको छ।

