५ चैत, काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको ले जनाएको छ।
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खर्च नियन्त्रणका लागि मितव्ययी नीति अपनाइएको जानकारी दिए। उनका अनुसार यसअघि खरिद गरिएका सामग्री पुनः प्रयोग गर्नुका साथै सरकारी स्वामित्वका संस्थासँग समन्वय गरी आवश्यक सामग्री खरिद गरिएको थियो।
निर्वाचनमा प्रयोग भएका करिब ५० प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री केन्द्रबाट खरिद गरी जिल्लामा पठाइएको थियो।
निर्वाचनका लागि आयोगले सात अर्ब ८१ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेकोमा अर्थ मन्त्रालयबाट छ अर्ब ७६ करोड रुपैयाँ स्रोत सहमति प्राप्त भएको थियो। यसमध्ये हालसम्म करिब तीन अर्ब ५४ करोड रुपैयाँ खर्च भइसकेको छ भने केही रकम भुक्तानी हुन बाँकी रहेको आयोगले जनाएको छ।
निर्वाचन पर्यवेक्षणतर्फ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय दुवै स्तरमा सहभागिता रहेको थियो। २२ कूटनीतिक निकायका १६४ प्रतिनिधि तथा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले अनुगमन गरेका थिए भने ३५ वटा राष्ट्रिय गैरसरकारी संस्थाले पनि पर्यवेक्षण गरेका थिए।
आयोगले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाएका मतदाता, सरकारी निकाय, सुरक्षाकर्मी, कर्मचारी, राजनीतिक दल, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।

