शान्ति–सुरक्षा मजबुत पार्दै निष्पक्ष निर्वाचनतर्फ अघि बढ्न राष्ट्रपति पौडेलको निर्देशन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायका प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएका छन्।

शनिबार राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी छलफलमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले राजनीतिक दल र आम नागरिकमा निर्वाचनबारे विश्वास जगाउन सुरक्षा निकायहरू ‘बोल्ड्ली’ प्रस्तुत हुनुपर्ने बताएका थिए। उनले शान्ति–सुरक्षा मजबुत पार्दै निर्वाचनको विश्वसनीयता र निष्पक्षतामा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्न निर्देशन दिए।

त्यसक्रममा उनले भदौ २४ गतेका घटनामा लुटिएका हतियार र फरार कैदीबन्दीहरू अबिलम्ब फिर्ता गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे।

प्रधानमन्त्री सुशीला कार्कीले सरकार पूर्ण तयारीसहित निर्वाचनमा जुटेको बताउँदै भनिन्, “स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन। सुरक्षा निकायलाई आवश्यक सम्पूर्ण साधन र स्रोत उपलब्ध गराइनेछ।”

छलफलमा सहभागी प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले सुरक्षा चुनौतीका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

सुरक्षा प्रमुखहरूले विगतमा पनि कठिन परिस्थितिमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गरेको अनुभव सुनाउँदै यसपटक पनि देशभर भयरहित र व्यवस्थित निर्वाचन वातावरण कायम गर्न पूर्ण तयारी भएको बताएका थिए।

Leave a comment