रास्वपा सदस्यको धार्मिक आस्था व्यक्तिगत स्वतन्त्रता : सांसद मनीष झा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, साउन १७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य मनीष झाले पार्टीका सदस्यहरूले हिन्दु अभियन्ताको रूपमा गतिविधिमा सहभागी हुन पाउने बताएका छन्। उनले धार्मिक आस्था र सामाजिक अभियानमा सहभागिता व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले त्यसलाई विवादको विषय बनाउन नहुने स्पष्ट पारे।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले हिन्दु सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एकजना रास्वपाका सदस्य रहेको स्वीकार गरे। उनले पार्टी सदस्य भएकै कारण उनीमाथि प्रश्न उठाउनु उचित नहुने बताए।
उनका अनुसार आन्दोलनलाई हिंसात्मक दिशामा जान नदिई वार्तामार्फत समाधान खोज्न रास्वपाले सकारात्मक भूमिका खेलेको हो। उनले वार्तामा सहभागी सदस्यले संवादको वातावरण बनाउन योगदान दिएको दाबी गरे।
सांसद झाले हिन्दु सम्राट सेनाले उठाएका मागमध्ये संवैधानिक, व्यावहारिक र कार्यान्वयन गर्न सकिने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए। उनका अनुसार गृह मन्त्रालय, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय जनप्रतिनिधिको सहभागितामा करिब साढे नौ घण्टा लामो छलफल भएको थियो।
पहिलो चरणको वार्तापछि केही पक्ष असन्तुष्ट बनेपछि दोस्रो चरणमा थप छलफल गरिएको र त्यसक्रममा आन्दोलनकारीले थप छ वटा नयाँ माग प्रस्तुत गर्नुका साथै केही पुराना माग संशोधन गर्न प्रस्ताव गरेको उनले बताए।
सुरक्षा निकायका अधिकारी तथा गृहमन्त्री सुदन गुरुङले आवश्यक आश्वासन दिएपछि आन्दोलनकारी पक्ष सन्तुष्ट भएको सांसद झाको भनाइ छ।
सांसद झाले भने, “कुनै व्यक्ति रास्वपाको सदस्य हुँदैमा आफ्नो धार्मिक आस्था त्याग्नुपर्छ भन्ने होइन। पार्टीका सदस्यहरूले आफ्नो व्यक्तिगत हैसियतमा धार्मिक अभियानमा सहभागी हुन सक्छन्। हिंसा र तोडफोडको बाटोभन्दा संवाद र वार्तामार्फत समाधान खोज्नु नै सही विकल्प हो।”

Leave a Comment