काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमण गर्ने तयारी अन्तिम क्षणमा रद्द गरेको खुलासा भएको छ। इरान सरकारबाट आएको एक सन्देशले परिस्थितिलाई अचानक मोड दिएको र त्यसपछि ट्रम्प आक्रमण नगर्ने निष्कर्षमा पुगेको दाबी गरिएको छ।
अमेरिकी पत्रिका वासिङ्टन पोस्ट ले ह्वाइट हाउसका एक उच्च अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पका विशेष दूत स्टिभ विटकफलाई पठाएको सन्देश निर्णायक बन्यो। उक्त सन्देशमा इरानी सरकारले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिने कुनै योजना नरहेको स्पष्ट पारिएको थियो।
त्यस सन्देशपछि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “अब के हुन्छ, हामी हेर्दै जानेछौँ।”
अमेरिकी अधिकारीका अनुसार त्यसको भोलिपल्ट सीआईएले पनि इरानमा मृत्युदण्ड दिइएको कुनै प्रमाण नभएको पुष्टि गरेको थियो।
रिपोर्टमा उल्लेख भएअनुसार इरानले अमेरिकाले सैन्य हतियार र सेना तैनाथ गरिरहेको अवस्थामा कुनै पनि बेला आक्रमण हुनसक्ने अनुमान गरेको थियो। यही आशंकाबीच इरानले कूटनीतिक च्यानल प्रयोग गर्दै सन्देश पठाएको बताइएको छ।
यसैबीच खाडी क्षेत्रका मुलुकहरू पनि सक्रिय कूटनीतिमा उत्रिएका थिए। साउदी अरेबिया, कतार, ओमान, इजिप्ट र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशहरूले संयुक्त रूपमा ह्वाइट हाउससँग सम्पर्क गरी इरानमाथि आक्रमण नगर्न आग्रह गरेको एक कूटनीतिज्ञलाई उद्धृत गर्दै वासिङ्टन पोस्ट ले जनाएको छ।
यसअघि सीएनएनले पनि मध्यपूर्वका देशहरूले अमेरिकालाई युद्धतर्फ नजान दबाब दिएको समाचार प्रकाशित गरेको थियो।
एक सन्देश, बहुपक्षीय कूटनीति र गुप्तचर पुष्टिले सम्भावित ठूलो सैन्य टकराव टरेको विश्लेषकहरू बताउँछन्।

