निर्वाचन तयारी तीव्र, एक करोड ४२ लाखभन्दा बढी मतपत्र छापियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

९ माघ २०८२, काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम तीव्र रूपमा अघि बढेको छ । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म एक करोड ४२ लाखभन्दा बढी मतपत्र छापिसकेको जनाएको छ ।

केन्द्रका अनुसार अहिलेसम्म एक करोड ४२ लाख ८ हजार थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छापिएको केन्द्रले जानकारी दिएको छ । निर्वाचनका लागि कुल दुई करोड ८ लाख ३ हजार थान मतपत्र छाप्नुपर्ने लक्ष्य तय गरिएको छ ।

मतपत्रसँगै प्याकिङ कार्य पनि जारी रहेको केन्द्रले जनाएको छ । हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने पछिल्लो २४ घण्टामा एक हजार २२६ बाकस प्याकिङ गरिएको छ । यसैबीच, केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकेको छ ।

यता, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आज निर्वाचन चिह्न पाउनेछन् । निर्वाचन तालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ निर्वाचनका लागि माघ ६ गते देशभर उम्मेदवारी दर्ता गरिएको थियो । निर्वाचन चिह्न वितरणसँगै उम्मेदवारहरू औपचारिक रूपमा चुनावी प्रचार–प्रसारमा सक्रिय हुने अपेक्षा गरिएको छ

Leave a Comment