काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अमेरिकासँग खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ।
दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिन लागेका हुन्। नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको थियो भने अमेरिकाले पनि स्कटल्यान्डसँग समान २ रनको हार बेहोरेको थियो।
घरेलु मैदानमा अन्तिम लिग–२ सिरिज खेलिरहेको नेपाल अंक तालिकामा सुधार गर्दै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ। शीर्ष ६ मा रहन सके नेपालले एकदिवसीय वरीयता कायम राख्नेछ भने शीर्ष ४ टोलीले सिधै विश्वकप छनोट खेल्ने अवसर पाउनेछन्।
आजको खेलमा नेपाली टोलीमा दुई परिवर्तन हुन सक्ने सम्भावना छ। मुख्य प्रशिक्षक स्टुआर्ट लले विनोद भण्डारी र अर्जुन कुमाललाई विश्राम दिँदै कुशल भुर्तेल र ईशान पाण्डेलाई प्लेइङ–११ मा मौका दिन सक्ने बताइएको छ। ईशान पाण्डेले आज ओडीआईमा डेब्यु गर्न सक्ने सम्भावना पनि रहेको छ।
स्कटल्यान्डविरुद्ध नेपालले बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा अपेक्षाअनुसार खेल्न सकेको थिएन। त्यसैले आज ब्याटिङ सुधार्दै जित निकाल्ने दबाब नेपाली टोलीमाथि रहनेछ।
यसअघि तयारीका क्रममा नेपाल ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डविरुद्धका अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो। तर राष्ट्रिय टोलीले भने त्यसलाई निरन्तरता दिन सकेको छैन।







