काठमाडौं, चैत ८ — सरकारले नागरिकलाई सेवा लिन सहज बनाउने उद्देश्यले नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी विवरण एकीकृत प्रणालीबाट उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ।
अब एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने झन्झट हट्ने भएको छ।
गृह मन्त्रालयले सञ्चालनमा ल्याएको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली बीच अन्तरआबद्धता (इण्टरअपरेबिलिटी) गरेर यो सेवा सुरु गरिएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नयाँ व्यवस्थाले सेवाग्राहीलाई सहजता मिल्ने बताए।
उनका अनुसार अब राष्ट्रिय परिचयपत्रका लागि पहिले जस्तो छुट्टै आवेदन फारम भर्नुपर्ने बाध्यता हटाइएको छ। यसबाट सेवाग्राहीको समय र आर्थिक लागत दुवै बचत हुनेछ।
अहिलेसम्म राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न फारम भर्ने र बायोमेट्रिक दिन तोकिएका केन्द्रमा जानुपर्ने व्यवस्था थियो। नयाँ प्रणाली लागू भएसँगै यो प्रक्रिया सहज बनाइएको छ।
सरकारले हाल केही स्थानबाट यो सेवा सुरु गरिसकेको जनाएको छ। आगामी दिनमा देशभर विस्तार गर्दै लैजाने योजना रहेको मन्त्रालयले जनाएको छ।
सरकारका अनुसार यो कदमले सेवा प्रवाहलाई छरितो, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

