मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२९ मंसिर ,चितवनस्थित भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा ब्रेन हेमरेजका कारण जीवन र मृत्युसँग संघर्ष गरिरहनुभएका बाराका अग्रज पत्रकार फैजुल्लाह आलमको उपचारमा आर्थिक अभावले परिवार गम्भीर संकटमा परेको छ। लामो समयदेखि पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएका आलमको उपचार खर्च धान्न परिवारलाई कठिन भएको छ।

यस संवेदनशील घडीमा नेपाल पत्रकार महासंघ बारा शाखाले मानवीय दायित्व निर्वाह गर्दै अध्यक्ष रमेश सुवेदीको नेतृत्वमा रु. २० हजार सहयोग रकमको चेक आलमकी श्रीमतीलाई परवानीपुरस्थित निवासमै पुगेर हस्तान्तरण गरेको छ। कोषाध्यक्ष रन्जन यादव, कार्यसमिति सदस्य नवीन चौधरीलगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो।

महासंघ बारा शाखाका अध्यक्ष सुवेदीले पत्रकार आलमले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै यस जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले उपचारका लागि अझै ठूलो रकम आवश्यक रहेको भन्दै सबै शुभचिन्तक, पत्रकार, मनकारी व्यक्ति तथा संस्थालाई सहयोगका लागि आह्वान गर्नुभयो।

हालसम्म प्राप्त सहयोगले केही राहत मिलेको भए पनि आलमको जीवनरक्षाका लागि थप लाखौं रुपैयाँ तत्काल आवश्यक रहेको परिवारले जनाएको छ। यस सहयोग अभियानले “मानवीयताले जित्नुपर्छ” भन्ने सन्देश दिएको छ।

सम्पूर्ण शुभचिन्तकहरूसँग अग्रज पत्रकार फैजुल्लाह आलमको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको जीवन बचाउन सक्दो आर्थिक सहयोग गर्न हार्दिक अपिल गरिएको छ। तपाईंको सानो सहयोगले पनि उहाँको परिवारमा आशा र खुसीको किरण ल्याउन सक्छ।

Leave a Comment