सर्लाहीमा चुनावी सुरक्षा कडाइ: आधाभन्दा बढी मतदानस्थल ‘अति संवेदनशील’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सर्लाही, माघ ११ — आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा सुरक्षा संयन्त्र उच्च सतर्कतामा देखिएको छ। जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूको स्थलगत अनुगमन सुरु गरेसँगै जिल्लाका ठूलो सङ्ख्यामा केन्द्रहरू जोखिम सूचीमा परेका छन्।

जिल्लाभर रहेका ३१२ मतदानस्थलमध्ये १५८ वटा ‘अति संवेदनशील’ र १३१ वटा ‘संवेदनशील’ श्रेणीमा राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। विशेषगरी भारतसँग सिमाना जोडिएका क्षेत्रहरूलाई सुरक्षा दृष्टिले बढी चुनौतीपूर्ण मानिएको छ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया सहित सुरक्षा निकायका प्रमुखहरूले स्थल निरीक्षण अघि बढाएका हुन्। जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काका अनुसार प्रारम्भिक अनुगमनमा अवस्था सामान्य देखिए पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी तीव्र पारिएको छ।

सबैभन्दा बढी चासोको केन्द्र बनेको छ निर्वाचन क्षेत्र नम्बर ४। यहाँ रहेका ८१ वटै मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्। यही क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेपछि चुनावी माहोल थप तातेको छ।

राजनीतिक रूपमा चर्चित यो क्षेत्रमा प्रतिस्पर्धा कडा हुने आँकलन गरिएको छ। २०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट मैदानमा उत्रिने तयारीमा छन्।

सुरक्षा निकायले सीमा नाका, संवेदनशील बस्ती र राजनीतिक रूपमा तातिएका स्थानहरूमा निगरानी बढाएको जनाएको छ। चुनाव नजिकिँदै जाँदा सर्लाहीमा सुरक्षा व्यवस्थापन मुख्य प्राथमिकता बन्ने संकेत देखिएको छ।

Leave a Comment