काठमाडौं, फागुन १२। धादिङमा आइतबार राति भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाएका सबै १९ जनाको परिचय खुलेको छ।
बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १२३१ नम्बरको बस सडकबाट त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा तीन विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको हो। मृतकमध्ये बेलायती, भारतीय र चिनियाँ नागरिक रहेका छन्।
दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार १४ जनाको काठमाडौंस्थित ट्रमा सेन्टर, १० जनाको नेशनल अस्पताल कलंकी र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।


