काठमाडौँ, माघ १५, २०८२ — आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई सुरक्षा सामग्री सहयोग प्रदान गरेको छ। बिहीबार अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा भारत सरकारद्वारा २५० वटा सवारी साधन नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले निर्वाचन प्रयोजनका लागि बजेट पर्याप्त नभएको अवस्थामा भारतबाट प्राप्त सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रिया सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भारतलाई नेपालको ‘फर्स्ट रेस्पोन्डर’ का रूपमा उल्लेख गर्दै सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले देखाएको तदारुकता स्मरण गरे।
जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधन क्षतिग्रस्त भएकाले नयाँ सवारी साधन प्राप्त भएपछि सुरक्षा निकायको कार्यक्षमता अझ मजबुत हुने सरकारको विश्वास छ। अर्थमन्त्री खनालका अनुसार यदि यी सामग्रीहरू सरकारले आफैं खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो, जुन भारतीय सहयोगले न्यूनीकरण गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भारत सरकारले नेपाललाई उपहारस्वरूप कुल ६५० वटा सवारी साधन उपलब्ध गराउने जानकारी दिए। उनका अनुसार हालसम्म २५० वटा सवारी हस्तान्तरण भइसकेको छ भने बाँकी ४०० वटा सवारी आगामी साताभित्रै नेपाल आइपुग्नेछन्।
नेपाल–भारत सम्बन्ध केवल छिमेकी राष्ट्रबीचको सम्बन्ध मात्र नभई भरपर्दो विकास साझेदारीको उदाहरण रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा दुई देशबीचको मित्रता अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।






