मुख्यमन्त्री नियुक्तिपछि मधेशमा झडप : कार्यकक्षमा तोडफोड, कर्मचारीमाथि कुटपिट

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कात्तिक २४, २०८२

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादले हिंसात्मक रुप लिएको छ। असन्तुष्ट दलका नेता–कार्यकर्ताहरूले सोमबार बिहान प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गर्दै कर्मचारीमाथि समेत हातपात गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ—एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउने प्रयास गर्दा भीडले उनलाई घेरेर मुक्का प्रहार गर्छ। फाइल भुइँमा खस्छ र उनका साथीहरूले उनलाई भिडबाट बचाउने प्रयास गर्छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहानै एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदको शपथ गराएपछि मधेशमा राजनीतिक तनाव चर्किएको हो। नेपाली कांग्रेस, जसपा, लोसपा लगायतका दलका सांसद र कार्यकर्ताहरूले यस निर्णयको विरोधमा प्रदेश भवन अगाडि टायर बाल्दै प्रदर्शन गरेका छन्।

विरोधका क्रममा केही सांसदले मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गर्दै नेपालको राष्ट्रिय झन्डासमेत फालेका थिए।

यसअघि प्रदेश प्रमुख भण्डारीले बिरामी भएको कारण देखाउँदै काठमाडौं प्रस्थान गर्ने बताएकी थिइन्। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिँदै स्वास्थ्यलाभको कामना गर्दै बिदाइ गरेका थिए। तर त्यसपछि उनले महोत्तरीको बर्दिबास–३, कालापानीस्थित होटेल पानसमा पुगेर एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी हुन्।

यो घटनापछि मधेश प्रदेशको राजनीति थप उग्र बनेको छ। सोनलले प्रतिक्रिया दिँदै भने, “प्रदेश प्रमुखले मधेशको अस्मिता लुटेकी छिन्।”

त्यसैगरी जनमत पार्टीका अध्यक्ष डा‍. सीके राउतले मधेशलाई स्वायत्त घोषणा गर्ने समय यही भएको बताएका छन्। उनका अनुसार, “मधेश प्रदेश सभाको बैठक सडकमै डाकेर भए पनि स्वायत्त घोषणा गर्नुपर्छ।”

मधेशमा अहिले उच्च राजनीतिक तनाव छ। प्रदेश भवन वरिपरि सुरक्षा बलको उपस्थिति बढाइएको छ।

Leave a comment