मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना, ३८ घाइते १० जनाको अवस्था मध्यम, सबैको उपचार भरतपुर र मुग्लिनका अस्पतालमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१६ माघ, काठमाडौं । दाङबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्।

लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा ‘घुमाउने’ भन्ने स्थानमा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनापछि तत्काल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको थियो। घाइतेहरुलाई उपचारका लागि भरतपुर र मुग्लिनका विभिन्न अस्पतालमा पठाइएको छ। प्रहरीका अनुसार घाइतेमध्ये १० जनाको अवस्था मध्यम रहेको छ भने २८ जनाको अवस्था सामान्य छ।

हाल मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको छ।

नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत चारै जना घाइतेको अवस्था मध्यम रहेको छ। पुरानो मेडिकल कलेजमा उपचाररत सबै १३ जनाको अवस्था सामान्य छ। मौलाकालिका अस्पतालमा उपचार भइरहेकामा केही यात्रुको हात–खुट्टा भाँचिएको तथा टाउको, ढाड र कम्मरमा चोट लागेको छ। जनता केयर अस्पताल मुग्लिनमा चालकसहित ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बालिका, वृद्धदेखि जनप्रतिनिधिसमेत घाइते भएका छन्। रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष चेतलाल खत्री पनि घाइतेमध्ये एक हुन्।

बस पल्टिएपछि केही समय सडक अवरुद्ध भए पनि अहिले यातायात पूर्ण रूपमा सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

Leave a Comment