१२ घण्टामै ‘जय महाकाली’ हिट, बालेनले तोडे युट्युब रेकर्ड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १३ चैत २०८२ । बालेन्द्र (बालेन) शाहको लोकप्रियता राजनीतिमा मात्र सीमित छैन, उनले सांगीतिक क्षेत्रमा पनि नयाँ इतिहास बनाएका छन्।

प्रधानमन्त्रीको शपथ ग्रहणको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको उनको र्‍याप गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक भएको छोटो समयमै रेकर्ड ब्रेक गर्न सफल भएको छ। गीतले रिलिज भएको १२ घण्टाभित्रै २२ लाखभन्दा बढी भ्युज पाउँदै नेपाली संगीत इतिहासमै नयाँ कीर्तिमान कायम गरेको हो।

यसअघि २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिएको नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’ को नाममा थियो, जसले १६ लाख ३६ हजार भ्युज पाएको थियो। बालेनको गीतले भने त्यो रेकर्ड सहजै तोडेको छ।

यति मात्र होइन, ‘जय महाकाली’ सार्वजनिक भएको केवल ३ घण्टामै १० लाख भ्युज पार गर्दै सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने नेपाली गीतसमेत बनेको छ।

रोचक कुरा के भने, यस गीतको अडियो करिब ११ वर्षअघि नै तयार भएको थियो। अहिले भने त्यसलाई रि-मास्टरिङ गरी चुनावी अभियानका दृश्यहरू समावेश गरेर नयाँ स्वरूपमा सार्वजनिक गरिएको हो।

हाल बालेन प्रधानमन्त्री बन्ने तयारीमा रहेका बेला उनको यो गीतले युट्युबमा व्यापक चर्चा पाएको छ। सांगीतिक यात्रालाई निरन्तरता दिँदै उनले आगामी दिनमा थप दुई नयाँ गीत सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्।

Leave a Comment