काठमाडौं, २२ माघ — सामाजिक सञ्जालमार्फत ‘जेनजी आन्दोलन’ का क्रममा सिंहदरबारमा आगजनी गरेको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६ वर्षीय महेन्द्र गौतम रहेका छन्। प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गौतमले सिंहदरबारमा आगजनी गरेको भन्दै अभिव्यक्ति दिनुका साथै अन्य व्यक्तिहरूलाई समेत त्यस्तो कार्य गर्न उक्साउने गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
प्रहरीले उनलाई भीडलाई उत्तेजित बनाउने खालको अभिव्यक्ति दिएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा असर पर्ने किसिमका अभिव्यक्ति तथा गतिविधि नगर्न सबैलाई आग्रह समेत गरेको छ।






