निर्वाचन शान्तिपूर्ण हुनेमा आयोग ढुक्कः बिथोल्ने प्रयास सफल हुँदैन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, २३ माघ २०८२ । निर्वाचन आयोगले अब हुने निर्वाचन शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न हुने स्पष्ट गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले वर्तमान अवस्थामा शान्ति सुरक्षाको विषयलाई लिएर थप चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कावा प्रमुख आयुक्त भण्डारीले निर्वाचन घोषणा भएलगत्तै सुरक्षा चुनौतीबारे गम्भीर छलफल सुरु गरिएको स्मरण गरे। प्रारम्भमा विभिन्न राजनीतिक घटनाक्रमका कारण सुरक्षाप्रति चासो हुनु स्वाभाविक भए पनि अहिले अवस्था नियन्त्रणमा आएको उनको भनाइ छ।

उनका अनुसार भदौ २३ र २४, २०८२ मा भएको जेनजी आन्दोलनपछि राजनीतिक अवस्था अस्थिर बनेको थियो। त्यसक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने २७ भदौ २०८२ मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१, २०८२ का लागि निर्वाचनको मिति तोकेका हुन्।

‘विद्रोहपछिको सरकार बनेको अवस्था भएकाले सुरक्षाबारे प्रश्न उठ्नु स्वाभाविक थियो,’ भण्डारीले भने, ‘संविधान जीवित छ, तर पुराना र नयाँ राजनीतिक शक्तिबीच सन्तुलन कायम हुन सकेन भने निर्वाचन प्रभावित हुनसक्थ्यो।’

उनले निर्वाचन आयोगले सरकार, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेताहरू तथा उम्मेदवारको सुरक्षासम्बन्धी विषयमा पटक–पटक छलफल गर्दै आएको जानकारी दिए। विशेषगरी मतदानका दिन मतदाताको सुरक्षालाई केन्द्रमा राखेर तयारी गरिएको उनको भनाइ छ।

सरकार र सुरक्षा निकायसँगको समन्वयबाट हाल मतदाता, उम्मेदवार र निर्वाचन प्रक्रियाको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकाय पूर्ण रूपमा सक्षम देखिएको आयोगको निष्कर्ष छ।

‘सबै पक्षबाट मूल्याङ्कन गर्दा अब शान्ति सुरक्षालाई लिएर धेरै टाउको दुखाउनुपर्ने अवस्था छैन,’ कावा प्रमुख आयुक्त भण्डारीले स्पष्ट पारे, ‘निर्वाचन ढुक्कका साथ, शान्तिपूर्ण रूपमा हुन्छ। यसलाई कसैले बिथोल्न सक्दैन, बिथोल्न खोज्ने तत्त्व सुरुमै परास्त हुन्छन्।’

Leave a Comment