इरानको कडा चेतावनी : थप आक्रमण भए खाडी क्षेत्रका ऊर्जा केन्द्र पनि निशानामा पर्ने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, साउन १७ — इरानले अमेरिका वा इजरायलबाट पुनः सैन्य आक्रमण भए त्यसको कडा र निर्णायक जवाफ दिने चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै कुनै पनि नयाँ सैन्य कदमले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउने बताएका हुन्।
अराघचीले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनिर, टर्कीका विदेशमन्त्री हाकान फिदान तथा साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानसँगको वार्तामा इरानमाथि आक्रमण भए त्यसको अनुपातिक र कडा प्रतिकार गरिने स्पष्ट पारे।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्निकट सञ्चारमाध्यम नूरन्युज ले पनि अमेरिका वा उसका सहयोगीले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरे साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार तथा इजरायलका तेल र ग्यास पूर्वाधारलाई निशाना बनाइने चेतावनी दिएको छ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्प डेभिडमा आयोजित मन्त्रिपरिषद् बैठकमा कूटनीतिक समाधानको सम्भावना अझै कायम रहेको बताए। उनले विशेष दूत स्टिभ विटकफ, विदेशमन्त्री मार्को रुबियो र जारेड कुशनरको टोलीले इरानसँग सहमति जुटाउने प्रयास गरिरहेको उल्लेख गरे। तर आवश्यक परे फेरि सैन्य कारबाही गर्न सकिने संकेत पनि उनले दिएका छन्।
अमेरिका–इरान तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ। जुलाई महिनामा ब्रेन्ट क्रुडको मूल्य करिब २४ प्रतिशतले वृद्धि भएको थियो भने आगामी महिनामा पनि मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ।
तनावका कारण विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरू हुँदै हुने समुद्री यातायात प्रभावित भएको छ, जसको असर विश्व अर्थतन्त्रमा समेत देखिन थालेको विश्लेषण गरिएको छ।
यसैबीच कुवेतले इरानबाट प्रक्षेपण गरिएका केही ड्रोन खसालिएको जनाएको छ। ड्रोनका भग्नावशेष खस्दा केही सरकारी तथा निजी संरचनामा सामान्य क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको बताइएको छ।
उता यमनका इरान समर्थित हुथी विद्रोहीहरूले बाब–अल–मन्देब जलडमरू हुँदै आवतजावत गर्ने जहाजलाई लक्षित गर्न सकिने चेतावनी दिएका छन्। बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार ओमानको तट नजिक दुई वटा समुद्री सुरक्षा घटना भएका छन्, जसमा एक तेल ट्यांकरमा प्रहार हुँदा इन्जिन कक्षमा क्षति पुगेको छ भने अर्को जहाज नजिक विस्फोट भए पनि ठूलो क्षति हुनबाट जोगिएको छ।

Leave a Comment