जनकपुरमा सरकार र संयुक्त हिन्दु मोर्चाबीच १३ बुँदे सहमति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

जनकपुरधाम, साउन १६ — जनकपुरधाममा आन्दोलनरत संयुक्त हिन्दु मोर्चा र नेपाल सरकारबीच शनिबार भएको दुई चरणको वार्तापछि १३ बुँदे सहमति भएको छ। सहमतिसँगै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र वार्तामार्फत समाधान खोज्ने समझदारी भएको छ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले वार्तापछि दुवै पक्षबीच माग सम्बोधन गर्ने दिशामा सहमति भएको जानकारी दिए। उनका अनुसार आन्दोलनरत पक्षले अघि सारेका १३ बुँदे मागमध्ये हिन्दु राष्ट्र सम्बन्धी विषयमा थप छलफल गर्न सरकारलाई तीन महिनाको समय दिने सहमति भएको छ।

सुनसरी घटनापछि मधेश प्रदेशमा देखिएको तनाव कम गर्दै शान्ति, सद्भाव र सामाजिक सहिष्णुता कायम गर्ने उद्देश्यले भएको वार्तामा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ, मधेश प्रदेश सरकारका प्रतिनिधि, स्थानीय सरकारका पदाधिकारी तथा संयुक्त हिन्दु मोर्चाका प्रतिनिधिहरू सहभागी भएका थिए।

यसअघि शनिबार दिउँसो भएको पहिलो चरणको छलफलमा आन्दोलनरत पक्षले आफ्ना मागहरू औपचारिक रूपमा सरकारसमक्ष प्रस्तुत गरेको थियो। त्यसपछि साँझ भएको दोस्रो चरणको वार्तामा दुवै पक्ष सहमतिमा पुगेका हुन्।

सरकार र आन्दोलनरत पक्षले सहमतिअनुसार वार्ताको माध्यमबाट बाँकी विषयहरू टुंग्याउने तथा मधेशमा शान्तिपूर्ण वातावरण कायम राख्न संयुक्त रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Comment