विराटनगर, माघ २३ — नेपाल–भारत सीमा सुरक्षासम्बन्धी उच्चस्तरीय बैठक चलिरहेका बेला सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचानक अचेत भएर ढलेका छन्। घटनापछि उनलाई तत्काल अस्पताल पुर्याइए पनि स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको छ।
मोरङको विराटचोकमा शुक्रबार दिउँसो भइरहेको डीआईजीस्तरीय सीमा सुरक्षा बैठकका क्रममा घिमिरे अचानक बेहोस भएर ढलेका थिए। उनी सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत हुन्।
अस्पतालमा ‘क्रिटिकल’ अवस्था
घटनालगत्तै घिमिरेलाई उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज लगिएको थियो। उच्च रक्तचापका कारण ढलेका उनको जिब्रो काटिएको र अवस्था थप गम्भीर बनेपछि भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था अहिले ‘क्रिटिकल’ छ।
बैठककै क्रममा ढले
सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले बैठक चलिरहेकै बेला घिमिरे अचेत भएको पुष्टि गरेका छन्।
“बैठककै क्रममा उहाँ अचानक ढल्नुभयो,” उनले भने, “हाल उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको जानकारी पाएका छौँ।”
सरुवाको तयारीमै थिए
एसपी घिमिरेको मोरङबाट मकवानपुरस्थित सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनी गाडीमाई मुख्यालयमा सरुवा भइसकेको थियो। उनी मोरङबाट भोलिदेखि बिदा भएर जाने तयारीमा रहेका बेला यस्तो अवस्था आएको हो।
घटनापछि बैठकस्थलमा केही समय तनावपूर्ण वातावरण बनेको थियो भने सुरक्षाकर्मीहरू स्वास्थ्य अपडेटका लागि अस्पतालसँग निरन्तर सम्पर्कमा रहेका छन्।

