काठमाडौँ, शनिबार, माघ २४, २०८२ : प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका चर्चित अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। ६८ वर्षको उमेरमा हृदयघातका कारण अभिनेता थापाको निधन भएको खबरले आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री कार्कीले जनाएकी छन्।
शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अभिनेता थापाको निधनले नेपाली मात्र नभई भारतीय चलचित्र क्षेत्रले समेत एक बहुआयामिक र अनुभवी कलाकार गुमाएको उल्लेख गरेकी छन्। ‘चिनो’ चलचित्रका राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्मका उनका खलनायक र सहनायक भूमिका दर्शकका मनमा गहिरो छाप छोड्न सफल भएको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री कार्कीले कलाकार थापाले निर्वाह गरेका पात्रहरू नेपाली दर्शकको स्मृतिमा सधैँ जीवित रहने उल्लेख गर्दै चार दशकभन्दा बढी समयसम्म उनले चलचित्र क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताइन्।
“उहाँको साधना, समर्पण र निरन्तर मेहनत भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ,” शोक सन्देशमा भनिएको छ।
प्रधानमन्त्री कार्कीले दिवंगत कलाकार थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।






