टी–२० विश्वकपमा आज तीन समूहका तीन खेल, केही टोली अझै अंकविहीन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

माघ २८, २०८२ 

काठमाडौँ, माघ २८, २०८२ (बुधबार) — भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकपमा आज बुधबार समूह चरणका तीन महत्वपूर्ण खेल हुँदैछन्। प्रतियोगिता अघि बढ्दै जाँदा केही टोलीले भने अझै अंकको खाता खोल्न सकेका छैनन्।

समूह डीमा आज बिहान ११ः१५ बजे अफगानिस्तान र दक्षिण अफ्रिका मैदान उत्रनेछन्। दक्षिण अफ्रिकाले पहिलो खेल जित्दै दुई अंक जोडिसकेको छ भने अफगानिस्तान पहिलो खेलमा पराजित भएको थियो। यस समूहमा न्युजिल्यान्ड चार अंकसहित शीर्ष स्थानमा रहँदा अफगानिस्तान, अमेरिका र क्यानडा हालसम्म अंकविहीन छन्।

यस्तै समूह बीमा अपराह्न ३ः१५ बजे आयरल्यान्ड र अस्ट्रेलिया आमनेसामने हुनेछन्। आयरल्यान्ड पहिलो खेलमा हार बेहोरेर अंकविहीन छ भने अस्ट्रेलियाले आजै प्रतियोगिताको पहिलो खेल खेल्न लागेको हो। समूह बीमा जिम्बाब्वे र श्रीलंका समान दुई–दुई अंकसहित अग्रस्थानमा छन् भने आयरल्यान्ड र ओमान शून्य अंकमा छन्।

साँझ ७ः१५ बजे समूह सी अन्तर्गत इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्डले पहिलो खेलमा नेपाललाई चार रनले पराजित गर्दै दुई अंक जोडेको थियो। वेस्ट इन्डिजले पनि पहिलो खेल जित्दै दुई अंक बनाएको छ। दुई खेल खेलेको स्कटल्यान्ड एक जित र एक हारसहित दुई अंकका साथ दोस्रो स्थानमा छ। नेपाल र इटली भने अंकविहीन अवस्थामा छन्।

आजका खेलहरूले समूहको समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

Leave a Comment