२९ माघ २०८२, काभ्रेपलाञ्चोक। रामेछापमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि अवरुद्ध यातायात सेवा पीडित पक्ष, स्थानीय प्रशासन र अरनिको यातायात सेवा प्रालिबीच भएको सहमतिपछि पुनः सञ्चालनमा आएको छ।
बुधबार अबेरसम्म चलेको वार्तामा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रचलित कानुनअनुसार पाउने क्षतिपूर्ति तत्काल उपलब्ध गराउने सहमति भएको हो। साथै, दुर्घटनापछि बेपत्ता रहेका यात्रुका परिवारलाई समेत मृतक सरह मानेर क्षतिपूर्ति दिने उल्लेख गरिएको छ।
क्षतिपूर्ति र कानुनी प्रक्रिया
सहमति अनुसार मृतकका परिवारलाई कानुनबमोजिमको रकम नेपाल अरनिको यातायात सेवा प्रालिले तत्काल व्यवस्थापन गर्नेछ। थप क्षतिपूर्तिका विषयमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष, स्थानीय तहका जनप्रतिनिधि र यातायात कम्पनीबीच पुनः छलफल गरिनेछ।
दुर्घटनामा संलग्न सवारी चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने सहमति पनि भएको छ। अस्पतालमा रहेका शवहरूको पोस्टमार्टमपछि आफन्तको सहमतिमा अन्त्येष्टिका लागि जिम्मा लगाइनेछ।
हराइरहेकाको खोजी जारी
दुर्घटनामा परेर तीन जना अझै बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली–२ पिप्ले का ९ वर्षीय क्रिचन तामाङ, लिखु तामाकोसी–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बेपत्ता यात्रुहरूलाई पनि मृतक सरह मानी नियमानुसार क्षतिपूर्ति उपलब्ध गराइने सहमति पत्रमा उल्लेख छ।
सार्वजनिक यातायातमा कडाइ
दुर्घटनापछि सार्वजनिक यातायातमा प्रभावकारी अनुगमन गर्ने निर्णय गरिएको छ। रामेछाप भित्रिने तथा जिल्लाभित्र सञ्चालन हुने सवारी साधनको सीमा नाका र चेकपोस्टमा अनिवार्य जाँच गरिनेछ। यात्रुको संख्या, प्रवेश समय लगायतका विवरण अभिलेख राख्ने व्यवस्था मिलाइनेछ।
चालकले मदिरा वा नसालु पदार्थ सेवन गरेको पाइएमा कडा कारबाही गरिने तथा लापरबाही पुष्टि भए सवारी दर्ता खारेजसम्मको सिफारिस गरिने उल्लेख छ। साथै सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
विरोध कार्यक्रम स्थगित
पीडित पक्षले उठाएका माग कार्यान्वयनका लागि सम्बन्धित यातायात कम्पनी, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरिनेछ। सहमतिसँगै हालसम्म जारी विरोध कार्यक्रम स्थगित गरिएको छ।
उल्लेखनीय छ, काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ००१–०५ख ९९७५ नम्बरको बस मन्थली–६ स्थित त्रिवेणी पुल नजिकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए।

